आन्तरिक राजश्व कार्यालय विराटनगर : लक्ष्य ८४ करोड, असुली ९२ करोड

  • ब्रह्मदेव यादव, विराटनगर १४१  पटक हेरिएको

सोमबार, जेठ ०४, २०८३ समय : १७:५३:४८ , २ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा लक्ष्यको तुलनामा ८ करोड रुपैयाँ बढी राजश्व असुली गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा ८३ करोड ७६ लाख ३९ हजार रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा ९१ करोड ९६ लाख ९५ हजार रुपैयाँ राजश्व असुली गरेको छ । जुन लक्ष्यको तुलनामा १० प्रतिशतले बढी राजश्व असुली भएको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा (साउनदेखि वैशाख) ९ अर्ब १५ करोड १९ लाख ९३ हजार रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा ७ अर्ब ८६ करोड ४६ लाख ७१ हजार रुपैयाँ राजश्व असुली गरेको छ ।जुन लक्ष्यको तुलनामा ८६ प्रतिशतले राजश्व असुली भएको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा (साउनदेखि वैशाख) ७ अर्ब २५ करोड ६७ लाख ७५ हजार रुपैयाँ राजश्व असुली गरेका थिए । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा ८.४ प्रतिशतले बढी राजश्व असुली गरेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले इजरायल–इरान बिच जारी युद्धको कारण समुद्री जहाज भाडामा वृद्धि हुँदा निजी क्षेत्रले दोस्रो तथा तेस्रो मुलुकबाट सामान आयातमा कटौती गरेको बेला आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा लक्ष्यको तुलनामा १० प्रतिशतले बढी राजश्व असुली भएको बताए ।

आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०८२/०८३ का लागि दिएको लक्ष्य भेटाउने गरी आफ्‌नो टिम काम गरिरहेको प्रमुख कर अधिकृत उप्रेतीले बताए । आन्तरिक राजश्व कार्यालय विराटनगरले समग्रमा राजश्व असुलीमा अगाडी रहेकोले आफ्‌नो टिम उत्साहित रहेको प्रमुख कर अधिकृत उप्रेतीले बताए ।