स्पालाई थप व्यवस्थित बनाउने महानगरको प्रतिबद्धता

  • ब्रह्मदेव यादव, विराटनगर १३५  पटक हेरिएको

बुधबार, आषाढ १०, २०८३ समय : १६:१९:१६ , ४ घन्टा अगाडि

विराटनगर महानगरपालिकाले सञ्चालनमा रहेका स्पालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । विराटनगर महानगरपालिकाको बुधवार सम्पन्न नगर सभाको १८औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै स्पालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै नगर क्षेत्रमा सञ्चालनमा रहेको स्पालाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ । विराटनगर महानगरपालिका क्षेत्रमा ५० को हाराहारीमा स्पा सञ्चालन भइरहेको छ ।

विराटनगर महानगरपालिकाको वडा कार्यालयमा व्यवसायी प्रमाण–पत्र लिइ सकेपछि स्पा सञ्चालनमा ल्याउने कानुनी व्यवस्था छ । विराटनगर महानगरपालिकाको दक्षिणी सीमान्त क्षेत्र जोगबनी नाकादेखि उत्तरी क्षेत्र ढाटसम्म विराटनगर–धरान सडक खण्डको दुवै तर्फ भाडाको घरमा स्पा सञ्चालन भइरहेको छ ।

मेचीदेखि महाकाली सम्मका स्पा व्यवसायी विराटनगरमा स्पा सञ्चालन गरिरहेको छ । काठमाडौँ, नेपालगंज, सिन्धुली, बनेपा लगायत सहरका महिला विराटनगरको स्पामा काम गरिरहेको छ । पछिल्लो समय मोरङ प्रहरीले विराटनगरको स्पामा अवैध यौनजन्य गतिविधि भइरहेको सूचनाको आधारमा स्पामा छापा मारेको थियो ।

३ दर्जनभन्दा बढी सञ्चालक सहित महिला कामदारलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । महिला कामदारलाई सामान्य बयानपछि छोडिएको थियो । स्पाका सञ्चालक विरुद्ध मुद्दा चलाइएको थियो । पछि मुद्दा चलाइएका स्पाका सञ्चालक धरौटीमा रिहा भए ।

मोरङ प्रहरीले छापा मार्दा मापदण्ड विपरीत सञ्चालनमा रहेको भनिएको स्पा पुनः सञ्चालनमा आएको छ । विराटनगरको स्पामा अधिकांश ग्राहक भारतबाट आउने गरेको छ । प्रहरीको छापापछि स्पामा ग्राहक आउन छाडेको छ । भारतीय ग्राहक नेपाल प्रहरीको छापा मार्ने डरले स्पामा प्रवेश गर्न डराइ रहेका छन् ।

यस्तो अवस्थामा मंहगोमा घर भाडामा लिएर स्पामा सञ्चालन गरिरहेका व्यवसायीको अवस्था नाजुक बनेको छ । र व्यवसायी स्पा बन्द गर्ने अवस्थामा पुगेको छ । कतिपय स्पा ग्राहकको अभावमा बन्द भइसकेका छन् । यस्तो अवस्थामा विराटनगर महानगरपालिकाले स्पालाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ ।