मिडिया सम्मेलनमा बाहुनडाँगीका हात्ती पीडितले मुख्यमन्त्री कार्कीलाई बुझाए ज्ञापन-पत्र

  • चिरफार डटकम, विराटनगर १२९  पटक हेरिएको

शुक्रबार, आषाढ १२, २०८३ समय : १७:००:३२ , ४ घन्टा अगाडि

शुक्रबार विराटनगरमा कोशी प्रदेश स्तरीय मिडिया सम्मेलन चलिरहेको बेला झापा बाहुनडाँगीका हात्ती पीडितले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासंघको कोशी प्रदेश समितिले शुक्रवार विराटनगरमा आयोजना गरेको कोशी मिडिया सम्मेलनमा देश भरीका पत्रकार सहभागी भएको बेला झापा बाहुनडाँगीका हात्ती पीडितको समस्यालाई राष्ट्रिय स्तरमा पुर्‍याउन मिडिया सम्मेलनमै मुख्यमन्त्री कार्कीलाई ज्ञापन–पत्र बुझाएको हात्ती पीडित अगुवाले जानकारी गराए ।

मिडिया सम्मेलनकै बिचमा बाहुनडाँगीका हात्ती पीडितले चारसुत्रिय माँग समेटिएको ज्ञापन पत्र मुख्यमन्त्री कार्कीलाई बुझाए । हात्ती पीडितको माँग सम्बोधन नभएको खण्डमा सरकारका विरुद्ध चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

बाहुनडाँगी बस्तीमा निर्वाद रुपमा भारतबाट आउने जंगली हात्तीको प्रवेश र आतंकलाई विना शर्त रोक लगाउनु पर्ने, आजकै दिनदेखि लागु हुने गरी भारतबाट नेपाल प्रवेश गर्ने जंगली हात्तीलाई रबरको गोली हानेर फिर्ता पठाउनु पर्ने, पूर्वको मेची नदीको किनारदेखि सुनसरीको कोशी टप्पु क्षेत्रसम्मको कोरिडोरको अवधारणा अव्यवहारीक तथा जैविक मानवता विरुद्ध रहेकोले झापा बाहनुडाँगीको बासिन्दालाई गरिखान दिन परियोजना बन्द गर्नुपर्ने र हात्ती आतङ्क क्षेत्रमा सञ्चालनमा रहेको पर्यटकीय गतिविधि तत्कालै बन्द गर्नुपर्ने हात्ती पीडितको माँग रहेको छ ।

हात्ती पीडितले सङ्घीय संसद, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय कोशी विराटनगर, मेची नगरपालिकाको कार्यालय र जिल्ला डिभिजन वन कार्यालय झापालाई आफ्‌ना माँग बारे जानकारी गराएको छ ।